तत्कालीन सरकारले माध्यमिक विद्यालय तहसम्म अध्यापन गर्ने गराउने प्राध्यापकहरूले M.Ed. वा One year B.Ed. गर्नुपर्ने वा सोही सरहको शिक्षाशास्त्रसम्बन्धी तालिम प्राप्त हुनुपर्ने अनिवार्यता गराउँदै लगेपछि देशभरि चलेको लहरले यस भेगमा पनि असर गर्यो। शिक्षाशास्त्र अध्यापन गराउने संस्थाहरूको तीब्रताका साथ खोजी हुन थाल्यो र परिणामस्वरूप त्यतिबेला समाजमा शिक्षाप्रति चाख राख्ने समाजसेवी अग्रजहरूबाट शिक्षाशास्त्र विषयको अध्यापन थालनी गर्ने उद्देश्यसहित २०४५ सालमा रत्नज्योति क्याम्पस काठमाडौँको शाखाका रूपमा स्थापित यो संस्था २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भै आफ्नो यात्रामा अघि बढिरहेको हामी सबैमा जानकारी छ ।
हेटौंडा क्याम्पस विशुद्ध सामाजिक सेवाभावले स्थापित सार्वजनिक शैक्षिक संस्था हो । समाजका निम्न मध्यम वर्गीय अभिभावकहरूका सन्ततिका लागि यस क्याम्पसले उच्च शिक्षाको लागि एउटा गतिलो छहारी प्रदान गर्दै आएको छ । हाल यस क्याम्पसमा तत्कालिन उ.मा.शि.प.बाट सम्बन्धन प्राप्त गरी +२ तह र त्रि.वि. बाट सम्बन्धन प्राप्त शिक्षा शास्त्र संकाय अन्तर्गतको ४ वर्षे स्नातक र ४ semester को स्नातकोत्तर तहको पढाइ सञ्चालन भइरहेको छ । यस क्याम्पसले विगत तीन दशकदेखि शिक्षाशास्त्रका स्नातकहरू उत्पादन गर्दै क्याम्पस विस्तार गर्ने क्रममा वि.सं. २०६४ सालदेखि नेपाली, गणित, स्वास्थ्य, अंग्रेजी र EPM बिषयमा स्नातकोत्तर तहको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । तुलनात्मक रूपमा न्यून शुल्कमा उच्च शिक्षा प्रदान गर्ने सामुदायिक क्याम्पसको रूपमा यसले आफ्नो परिचय स्थापित गरेको छ ।
+२ कार्यक्रमलाई जिल्लामा सर्वप्रथम प्रस्तुत गर्ने क्याम्पस पनि हेटौंडा क्याम्पस नै हो । आफ्नो नाममा जग्गा तथा भवन नहुँदाको अवस्थामा पनि १५ वर्षको कठीन यात्रा यस संस्थाले भूटनदेवी उच्च माध्यमिक विद्यालयको परिसरमा नै व्यतीत गर्यो । धेरै वर्ष स्कूलमा भाडामा सञ्चालन गर्नु परेको यात्राको क्रममा विभिन्न प्रतिकूल अनुभवहरू सँगाल्दै अगाडि बढेको यो संस्थाले +२ तह तथा स्नातक तहमा देशमै पटकपटक सर्वोच्च स्थान हासिल गर्न सफल भएको छ । यस क्याम्पसबाट सफलतापूर्वक स्नातक तह उत्तीर्ण गर्ने सफल विद्यार्थीहरूले अन्यत्र गएर स्नातकोत्तर तहमा नेपाल प्रथम भएर शिक्षा क्षेत्रमा थप दियो बालेका छन् । यस क्याम्पसका उत्पादित विद्यार्थीले अन्यत्र निकालेका परिणामहरुले हेटौंडा क्याम्पसको परिपक्वता र शैक्षिक गुणस्तरीयताको यथेष्ट प्रमाण प्रस्तुत गर्दछ र आज मकवानपुरका लगभग हरेक मा.वि.र उच्च मा.वि.मा यस क्याम्पसद्वारा उत्पादित जनशक्तिहरूले सेवा गरिरहेका छन् ।
यसरी यस क्याम्पसको इतिहास एकातिर गौरवपूर्ण छ भने अर्कोतिर यसले स्थापना कालदेखि आजका दिनसम्म भोगेको दुःखपूर्ण जीवनका क्षणहरू पनि अविस्मरणीय छन् । यस क्याम्पससँग अहिले इमान्दार र लगनशील अध्यापक तथा कर्मचारीको समूह छ, अनुशासित विद्यार्थीको जमात छ । प्रशस्तै चुनौतीहरूका बीचमा सुनौला अवसरहरू पनि छन् तर यसलाई आगामी दिनमा अझ सशक्त र दूरदर्शिताका साथ अगाडि बढाउनु पर्ने आवश्यकता पनि उत्तिकै टड्कारो छ ।